काठमाडौं — इण्डियन प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा मुंबई इण्डियन्स ले कोलकाता नाइट राइडर्स लाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
मुंबईले २०१२ पछि पहिलोपटक सिजनको उद्घाटन खेलमै जित निकाल्दै २२१ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
मुंबईको जितमा रायन रिकल्टन ले ४३ बलमा ८१ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। उनले रोहित शर्मा सँग पहिलो विकेटका लागि १४८ रनको शानदार साझेदारी गरेका थिए। रोहितले ३८ बलमा ७८ रन जोडे।
त्यसपछि तिलक वर्मा (२०) र सूर्यकुमार यादव (१६) आउट भए भने कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे।
कोलकाताका लागि बैभव अरोरा, कार्तिक त्यागी र सुनिल नारायण ले समान १–१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनाएको थियो। कप्तान अजिंक्य रहाणे ले ६७ रन बनाउँदा अंगकृष रघुवंशी ले ५१ रनको योगदान दिए। रिंकु सिंह ३३ रनमा अविजित रहे।
मुंबईका लागि शार्दुल ठाकुर ले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले १ विकेट लिए।
जितसँगै मुंबई २ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने कोलकाता अंकविहीन रहेको छ।


