काठमाडौं — ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन्। उनलाई सामाखुशी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा का अनुसार गुरुङलाई पुनः पक्राउ गरिएको हो। उनी यसअघि पनि गुण्डागर्दी, कुटपिट र असुलीका आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
२०८० साल असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका गुरुङलाई प्रहरीले हत्कडीसहित बजारमा घुमाएको थियो। त्यसबेला अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई धरौटीमा छाडेको थियो।
प्रहरीका अनुसार गुरुङ कुनै समय कुमार घैंटे को समूहमा सक्रिय थिए। पछिल्ला वर्षहरूमा पनि उनीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
प्रहरीले गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया


