काठमाडौं। डेब्यु खेलमै हेमन्त धामी महँगो साबित हुँदा नेपालले युएईसँग पराजय भोगेको छ। सोमबार सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो।
नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ७ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गर्यो।
युएईका कप्तान तथा ओपनर मोहम्मद वासिमले १५ बलमा ३३ रनको आक्रामक पारी खेले। उनले समान ३ चौका र ३ छक्का प्रहार गरे। पहिलो ओभरमै हेमन्त धामीविरुद्ध उनले २० रन प्रहार गर्दै दबाब सिर्जना गरेका थिए।
अलिशान सराफु १८ रनमा आउट भए भने आकाशदीप नाथ १७ रनमा अविजित रहे।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले २ ओभरमा मात्र ८ रन खर्चिए। कुशल मल्लले १ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। तर वर्षाका कारण खेल रोकिने स्थिति बनेपछि डीएलएस नियमअनुसार खेललाई १० ओभरमा झारिएको थियो र युएईलाई ७८ रनको संशोधित लक्ष्य दिइएको थियो।


