काठमाडौं — अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मलाई वितरक तथा प्रदर्शकसँगको सल्लाहअनुसार प्रदर्शन मिति तय गरिएको निर्देशक योञ्जनले बताएका छन्।
उनका अनुसार ‘कुस्ती’ प्रेम, सम्बन्ध र भावनात्मक द्वन्द्वको कथा बोकेको फिल्म हो। “एकअर्कासँग छुट्टिन नसक्ने तर सँगै रहन पनि संघर्ष गर्ने जोडीको कथा फिल्ममा प्रस्तुत गरिएको छ,” उनले भने। फिल्मलाई प्रेमकथासँगै हास्यरस मिसिएको कमेडी–ड्रामा शैलीमा तयार पारिएको छ।
फिल्ममा धिरज मगर, मिरुना मगर, पुष्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसीलगायत कलाकारको अभिनय रहेको छ।
यस फिल्ममार्फत दिकिला शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्दैछिन्। ‘मिस इन्डिया २०२६’मा ‘मिस मल्टिमिडिया’को उपाधि जितेकी उनी एमटीभीको रियालिटी शो ‘स्प्लिट्सभिल्ला’बाट पनि चर्चामा आएकी हुन्।
निर्देशक योञ्जनका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनका लागि विभिन्न देशबाट प्रस्तावहरू आइरहेका छन् र केही स्थानमा वितरण सम्झौता अन्तिम चरणमा पुगेको छ।
प्राविधिक पक्षमा उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको संगीत, रेनिश फागोको कलर करेक्सन तथा शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व संगीत रहेको छ। नृत्य निर्देशन शिशिर खातीले गरेका छन्।
फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने काठमाडौंमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीमार्फत वितरण गरिनेछ।


