काठमाडौं । नेपाली कांग्रेसले आफ्ना भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण अभियान अघि बढाएको छ। पार्टी सभापति गगन थापाले नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघमा नयाँ अध्यक्ष नियुक्त गरेका हुन्।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला तथा नेपाल महिला संघको अध्यक्षमा मीना खरेललाई जिम्मेवारी दिइएको छ।
पार्टीभित्र लामो समयदेखि रिक्त र निष्क्रियजस्तै रहेका भ्रातृ संस्थालाई सक्रिय बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको कांग्रेस स्रोतले जनाएको छ। नवनियुक्त अध्यक्षहरूलाई संगठन विस्तारसँगै निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पनि दिइएको छ।
नयाँ नियुक्तिलाई कांग्रेसभित्र युवा पुस्तालाई अगाडि ल्याउने प्रयासका रूपमा समेत हेरिएको छ।


