जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग–अलग विषयका रूपमा हेर्ने विद्यमान प्रवृत्तिले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत तथा कार्यगत समन्वय आवश्यक रहेको बताएका छन् ।
जलवायुजन्य जोखिमको सामना गर्न स्थानीय समुदायको उत्थानशीलता तथा ‘हानि–नोक्सानी’ (लस एन्ड ड्यामेज) कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनीहरूको ठम्याइ छ ।
जलवायु विज्ञ डा. धर्म उप्रेतीले प्रकोपलाई वैज्ञानिक दृष्टिकोणबाट बुझ्नुपर्ने बताउँदै सरकारी निकायहरूबिच एकीकृत कार्ययोजना आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई छुट्टाछुट्टै रूपमा हेर्ने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गर्नुभयो ।
डा. उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणलाई ‘ट्रिपल प्लानेटरी क्राइसिस’ का रूपमा व्याख्या गर्दै यी तीनवटै संकटले विपद् निम्त्याउने बताउनुभयो । उहाँका अनुसार तराई क्षेत्रमा बढ्दो ‘लु’ (हिटवेभ), अनियमित वर्षा तथा वायुमण्डलीय असन्तुलनका कारण जोखिम झन् बढिरहेको छ ।
उहाँले भन्नुभयो, “जलवायु परिवर्तन र विपद्लाई अलग रूपमा बुझ्ने सोच परिवर्तन गर्न जरुरी छ । अहिले जलवायुजन्य विपद्का घटना बढिरहेका छन् । त्यसैले यी दुई क्षेत्रलाई हेर्ने निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक छ ।”
कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाशसिंह थापाले जलवायु परिवर्तन अब केवल प्राविधिक अवधारणा नभई जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय बनेको बताउनुभयो । उहाँले विपद्को समयमा स्थानीय समुदाय नै पहिलो प्रतिकार्य गर्ने निकाय भएकाले स्थानीय तहमै केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालले जलवायु परिवर्तनमा न्यून योगदान पु¥याए पनि यसको गम्भीर असर भोगिरहेको उल्लेख गर्दै उहाँले खडेरी, खाद्य असुरक्षा, हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम तथा अव्यवस्थित शहरीकरणले समस्या झन् जटिल बनाएको बताउनुभयो ।
उहाँले ‘हानि–नोक्सानी’ क्षेत्रमा ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रभावित समुदायलाई क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यले कोष सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव मोहन घिमिरेले नेपाल जलवायु परिवर्तन र विपद् जोखिमको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार स्थानीय तहलाई विपद् तथा वातावरणीय क्षेत्रमा काम गर्न प्रोत्साहन गर्न ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ (एलजी–पास) मा विशेष व्यवस्था गरिएको छ । विपद् व्यवस्थापनमा सक्रिय स्थानीय तहलाई अतिरिक्त अङ्क प्रदान गरी समपूरक अनुदानमा प्राथमिकता दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले विपद् व्यवस्थापनका लागि ‘७०–३०’ अवधारणा अघि सारेको छ । यसअनुसार कुल बजेटको ७० प्रतिशत विपद् न्यूनीकरण तथा पूर्वतयारीमा र ३० प्रतिशत प्रतिकार्य तथा पुनःस्थापनामा खर्च गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ ।
कार्यक्रममा सहभागीहरूले विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी काम गर्न तीनै तहका सरकार, गैरसरकारी संस्था र विकास साझेदारबिच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।


