काठमाडौं, जेठ १३
साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले आईपीएलको उपाधि रक्षा अभियानलाई मजबुत बनाउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ। क्वालिफायर–१ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा आरसीबीले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
धर्मशालामा भएको खेलमा आरसीबीले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भयो। गुजरातका लागि राहुल तेवतियाले सर्वाधिक ६८ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। आरसीबीका ज्याकोब डफीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार गरेको थियो। टोलीका कप्तान रजत पाटिदारले ३३ बलमा ९३ रनको विस्फोटक इनिङ्स खेल्दै गुजरातका बलरमाथि दबाब सिर्जना गरे। यस्तै विराट कोहली र क्रुनाल पान्ड्यालले समान ४३ रनको योगदान दिए।
पाटिदार र क्रुनालबीच चौथो विकेटका लागि बनेको ९५ रनको साझेदारी आरसीबीको विशाल स्कोरको मुख्य आधार बन्यो। दुवैले आक्रामक ब्याटिङ गर्दै गुजरातका बलरहरूलाई खेलभर दबाबमा राखेका थिए।
अब आरसीबीले फाइनलमा क्वालिफायर–२ को विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आज हुने इलिमिनेटरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्नेछन्। उक्त खेलको विजेताले क्वालिफायर–२ मा गुजरात टाइटन्ससँग खेल्नेछ र त्यसको विजेता टोलीले फाइनलमा आरसीबीसँग प्रतिस्पर्धा गर्नेछ।


