काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते शुक्रबार बेलुकी नारायणहिटी राजदरबारभित्र भएको उक्त घटनाले तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै समाप्त भएको थियो।
पारिवारिक जमघटका क्रममा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुति सहित राजपरिवारका अन्य सदस्यहरू मारिएका थिए। घटनामा राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाह, राजकुमारी जयन्ती, शान्ति, शारदा तथा कुमार खड्गविक्रम शाहको पनि ज्यान गएको थियो।
घटनापछि सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिले तत्कालीन युवराज दीपेन्द्रले आफ्नै परिवारका सदस्यमाथि गोली प्रहार गरी अन्ततः आफूलाई पनि गोली हानेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो।
प्रतिवेदनमा आफूले रोजेको युवतीसँग विवाह गर्न नपाएको असन्तुष्टि र नशालु पदार्थको प्रभावका कारण दीपेन्द्रले उक्त कदम चालेको उल्लेख गरिएको थियो। तर, सार्वजनिक गरिएको प्रतिवेदनप्रति ठूलो संख्यामा नेपाली नागरिकले विश्वास व्यक्त गर्न सकेनन्। उच्च सुरक्षा घेराभित्र भएको यति ठूलो घटनाको वास्तविकता अझै पूर्ण रूपमा बाहिर आउन नसकेको भन्दै दरबार हत्याकाण्ड आजसम्म पनि रहस्यकै विषय बनेको छ।
राजा वीरेन्द्रलाई जनतामाझ उदार र लोकप्रिय शासकका रूपमा हेरिन्थ्यो। उनको निधनपछि राजगद्दीमा बसेका राजा ज्ञानेन्द्र शाहले राजसंस्थालाई जोगाउन सकेनन्। २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्ले राजाका अधिकारहरू कटौती गर्यो र २०६५ सालमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २४० वर्ष पुरानो राजतन्त्रको औपचारिक अन्त्य गरियो।
हाल नारायणहिटी राजदरबारलाई संग्रहालयमा रूपान्तरण गरिएको छ। दरबार हत्याकाण्डको २५ वर्ष पूरा हुँदा पनि त्यस घटनासँग जोडिएका अनेक प्रश्नहरू अझै अनुत्तरित छन्, जसले नेपाली इतिहासको यो कालो अध्यायलाई निरन्तर चर्चाको केन्द्रमा राखिरहेको छ।


