काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। लिखत सम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरीले विशेष सूचनाको आधारमा ठोरी क्षेत्रमा लुकेर बसेका सिंहलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह एक दिन अदालतमा उपस्थित भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए।
प्रहरीले खोजतलासलाई तीव्र बनाउँदै विशेष टोली परिचालन गरेको थियो। सोही क्रममा ठोरी क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
जेठ १२ गते जिल्ला अदालत पर्साले स्थानीय लियाकत अलीको जाहेरीका आधारमा मेयर सिंहसहित तीन जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ परेका सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


