तपाईको प्रतिक्रिया
बारा । पछिल्ला केही दिनयता तराई–मधेशका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै विज्ञहरूले मजदुर, किसान तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
बढ्दो तापक्रमका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र खेतबारीमा काम गर्ने कृषकहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विगत तीन दिनदेखि तराईका अधिकांश क्षेत्रमा गर्मीको प्रभाव उल्लेख्य रूपमा बढेको छ। तीन दिनअघि अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस रहेकोमा हाल झण्डै ४० डिग्री सेल्सियस पुगेको छ।
जल तथा मौसम पूर्वानुमान शाखाले सार्वजनिक गरेको विवरणमा हालको अवस्थालाई ‘तातो दिन’ (Hot Day) को रूपमा उल्लेख गरिएको छ। उच्च तापक्रमका कारण खेतबारीमा काम गर्ने कृषकहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको स्थानीय कृषकहरूले बताएका छन्।
निजगढ नगरपालिकाकी कृषि प्राविधिक रुपा पराजुलीले बिहान चाँडो वा साँझपख मात्र खेतबारीको काम गर्न, प्रशस्त पानी पिउन तथा लामो समयसम्म घाममा नबस्न सुझाव दिएकी छन्। घाममा निस्कँदा छाता वा अन्य सुरक्षात्मक सामग्रीको प्रयोग गर्नसमेत उनले आग्रह गरिन्।
यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र निजगढका डा. दीपेन्द्र प्रसाद यादवले अत्यधिक गर्मीका बेला शरीरमा पानीको मात्रा कायम राख्न पर्याप्त पानी पिउनुपर्ने र सकेसम्म दिउँसोको चर्को घाममा नहिँड्नुपर्ने बताए। गर्मीको समयमा सर्पको टोकाइको जोखिम पनि बढ्ने भएकाले खेतबारी तथा खुला क्षेत्रमा काम गर्दा विशेष सावधानी अपनाउन उनले सुझाव दिएका छन्।
डा. यादवका अनुसार अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने सम्भावना उच्च रहने भएकाले खेतीपातीसहित अन्य कुनै पनि काम गर्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ। बढ्दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले स्थानीयवासीलाई सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
