काठमाडौं, आषाढ ०४
कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्डले लगातार तेस्रो विश्वकपमा पहिलो खेल जित्ने उपलब्धि कायम गर्यो।
इङ्गल्यान्डको जितमा ह्यारी केनले दुई गोल गर्दा जुड बेलिङ्घम र मार्कस रासफोर्डले एक–एक गोल थपे। क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसाले गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
खेलको १२औँ मिनेटमा नोनी माडुएकेमाथि पेनाल्टी क्षेत्रमा लुका मोड्रिचले फल गरेपछि इङ्गल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। केनको पहिलो प्रहार गोलकिपर डोमिनिक लिभाकोभिचले बचाए पनि नियम उल्लङ्घन भएको ठहर गर्दै रेफ्रीले पुनः पेनाल्टी प्रहार गर्न निर्देशन दिए। दोस्रो प्रयासमा भने केनले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
३६औँ मिनेटमा मार्टिन बातुरिनाले बक्स बाहिरबाट शानदार प्रहार गर्दै क्रोएसियालाई खेलमा फर्काए। तर त्यसको केही मिनेटपछि डिक्लान राइसको कर्नरमा केनले हेडमार्फत गोल गर्दै इङ्गल्यान्डलाई पुनः अग्रता दिलाए।
यो गोलसँगै केनले इङ्गल्यान्डका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने ग्यारी लाइनकरको कीर्तिमान बराबरी गरेका छन्।पहिलो हाफको इन्जुरी समयमा पेटार मुसाले आकर्षक भली गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमले व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरे र इङ्गल्यान्डलाई ३–२ को अग्रता दिलाए। त्यसपछि खेलको ८५औँ मिनेटमा वैकल्पिक खेलाडी मार्कस रासफोर्डले बुकायो साकाको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै इङ्गल्यान्डको जित सुनिश्चित गरे।
नयाँ मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा मैदान उत्रिएको इङ्गल्यान्डले आक्रामक र आत्मविश्वासी प्रदर्शन गर्दै विश्वकप अभियानलाई सुखद सुरुवात दिएको छ।


