सुर्खेत । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई सोमबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पौडेल वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले पक्राउ गरेको हो। साँझ करिब ५:४५ बजे विशेष प्रहरी टोली कार्यक्रमस्थलमै पुगेर उनलाई नियन्त्रणमा लिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको नेतृत्वमा खटिएको टोलीले पक्राउ प्रक्रिया अघि बढाएको थियो।
पक्राउपछि पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। यसक्रममा उनलाई सुर्खेतबाट नेपालगञ्जतर्फ लगिएको स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


