मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१.८४ प्रतिशतले वृद्धि भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ लाख ४४ हजार ८८० विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या १ लाख ३४ हजार ६६४ रहेको थियो।
यस वर्ष विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। भारतमा बढ्दो गर्मीबाट राहत खोज्दै हिमाली क्षेत्रतर्फ आउने तथा धार्मिक पर्यटनका लागि मुक्तिनाथ मन्दिर पुग्ने भारतीय पर्यटकको संख्या बढेकाले समग्र आगमनमा वृद्धि भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार जेठ महिनामा मात्रै ९० हजार ९३९ विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय नागरिक रहेको उनले जानकारी दिए। गत वर्षको जेठमा भने २४ हजार ३७२ विदेशी पर्यटक मात्र मुस्ताङ आएका थिए।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा मुस्ताङमा ९९ हजार ३९९ विदेशी पर्यटक आएका थिए भने २०८१/८२ मा यो संख्या बढेर १ लाख ५० हजार ४५३ पुगेको थियो। चालु वर्षको तथ्यांकले मुस्ताङमा पर्यटन गतिविधि थप विस्तार हुँदै गएको संकेत गरेको छ।
पर्यटन व्यवसायीहरूले सडक पहुँचमा सुधार, धार्मिक पर्यटनको आकर्षण र भारतीय पर्यटकको बढ्दो रुचिका कारण आगामी दिनमा पनि पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छन्।


