चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत जारी विद्युतीय मतदानमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ। मध्यराति १२ बजेदेखि सुरु भएको मतदानमा बिहानसम्म १ हजार ८ सय ६७ मत खसिसकेको छ।
पार्टीको केन्द्रीय सदस्य पदका ९९ स्थानका लागि निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।। नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका प्रतिनिधिहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन्।
मतदान व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार मतदान प्रक्रिया आज दिउँसो १२ बजेसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।
महाधिवेशनमा कुल ४ हजार २ सय प्रतिनिधि मतदाता सहभागी छन्। विद्युतीय माध्यमबाट मतदान भइरहेको हुँदा प्रक्रिया सहज, व्यवस्थित र छिटो भएको आयोजकले जनाएको छ।
रास्वपाको नयाँ नेतृत्व चयनसँग जोडिएको यो मतदानलाई पार्टी पंक्तिसँगै राजनीतिक वृत्तले पनि चासोका साथ हेरिरहेको छ।


