काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालमा उपचाररत नेपालीको आज बिहान ११:२० बजे निधन भएको अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालले जानकारी दिए।
नेपालीको उपचारका लागि डा. दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोली खटिएको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए। चिकित्सकहरूले निरन्तर प्रयास गरे पनि उनको ज्यान बचाउन नसकिएको डा. दाहालले बताए।
गत बिहीबार काठमाडौं महानगरपालिकाले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि उत्पन्न विवादका क्रममा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर अवस्थामा उनलाई तत्काल वीर अस्पताल पुर्याई सघन उपचार थालिएको थियो।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश विगत दुई वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए। उनी केही महिनायता रोजगारीको सिलसिलामा राजधानीमा रहेको वडा अध्यक्ष धनकर्ण मल्लले बताएका छन्।


