काठमाडौं । अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौं महानगरपालिका–१४ र कीर्तिपुर नगरपालिका–१० को सीमास्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। पानी सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू फेरि विस्थापित हुन बाध्य भएका छन्।
डुबानपछि सुरक्षाकर्मीले डुङ्गाको सहायताले केही सामान सुरक्षित स्थानमा सारे पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र दैनिक उपभोगका आवश्यक वस्तु पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्। उनीहरूका अनुसार राति एक्कासि बाढी पस्दा सामान सुरक्षित स्थानमा सार्ने समयसमेत नपाइएको थियो। साथै, सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थलमा पुगेको उनीहरूको गुनासो छ।

गृह मन्त्रालयका अनुसार राति १ः३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।
उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको मन्त्रालयले जनाएको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपुगेको सुरक्षित स्थानमा बसिरहेका छन्।
गृह मन्त्रालयका अनुसार घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू परिचालन भइसकेका छन्। प्रभावितहरूका लागि खाना, खानेपानी तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्था भइरहेको मन्त्रालयले जनाएको छ।


