काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकमा दीर्घकालीन सुधार र परिवर्तनका लागि केही समय लाग्ने भन्दै देशवासीलाई धैर्य गर्न आग्रह गरेका छन्।
पछिल्ला राजनीतिक घटनाक्रम तथा राज्य संरचनामा सुधारका क्रममा देखिएका चुनौतीबारे धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले अपेक्षित परिणाम प्राप्त गर्न समय लाग्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले भनेका छन्, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।”
प्रधानमन्त्री शाहले बाहिर फैलिएका अफवाह र सतही सूचनाको पछि नलाग्न पनि आग्रह गरेका छन्। उनले भनेका छन्, “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन।”
सरकारले अघि सारेका सुशासन, प्रशासनिक सुधार तथा भ्रष्टाचार नियन्त्रणका प्रयासप्रति विभिन्न क्षेत्रबाट भइरहेको दबाब र आलोचनाका बीच प्रधानमन्त्री शाहको यस्तो धारणा सार्वजनिक भएको हो।
चौतर्फी दबाब र चुनौतीका बाबजुद पनि आफू सुशासन र समृद्धिको एजेन्डाबाट पछि नहट्ने संकेत उनले दिएका छन्। विगतमा पनि विभिन्न चुनौतीबीच अघि बढेको स्मरण गर्दै शाहले सरकारका नीतिगत तथा व्यवस्थापकीय सुधारका प्रयासले आगामी दिनमा परिणाम दिने विश्वास व्यक्त गरेका छन्।


