काठमाडौं । खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगो मूल्यमा बिक्री भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू आउन थालेपछि सरकारले अनुगमनलाई तीव्रता दिएको हो।
उद्योगमन्त्री गौरी यादवले ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न गृह मन्त्रालयसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेकी थिइन्।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। त्यसअनुसार आइतबार बिहानैदेखि उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी र अनुगमन सुरु गरिएको हो।
प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधिमाथि निगरानी गरिरहेको छ। त्यस्ता गतिविधि भेटिए तत्काल कारबाही गरिने बताइएको छ।
उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचना तथा अवस्थाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो र बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।
सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने तथा गैरकानुनी रूपमा मूल्य बढाउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने सरकारको तयारी छ।


