लमजुङ, साउन २४ गते । लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ ।७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला पर्नुभएको हो । उहाँको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएपछि प्रहरीले हत्या भएको प्रारम्भिक अध्ययनअनुसार अनुसन्धान थालेको छ ।
शनिबार राति करिब ९ बजे मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीकाअनुसार सार्की आफ्नै घरको कोठामा रहेको खाटमुनि मृत अवस्थामा भेटिनुभएको हो । उहाँको घाँटीमा धारिलो हतियार प्रहार गरेको देखिएको छ ।
घटनास्थलको प्रारम्भिक अवस्थाले घटना शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।
घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटिएको छ । प्रहरीले मृतकको घरमा बस्दै आएका मगरसहित आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।
स्थानीयका अनुसार सार्की घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका श्रीमान् र छोराको यसअघि नै निधन भइसकेको थियो । छोरीको भने विवाह भइसकेको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाएको छ । घटनामा प्रयोग भएको भनिएको हतियार, घटनास्थलको अवस्था र संलग्न व्यक्तिबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


