काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।
सहमतिमा साउन १० गते राति देवानगञ्ज–३ स्थित कसानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउने उल्लेख छ। घटनासँग सम्बन्धित देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतलगायत विषयमा समेत तत्काल छानबिन सुरु गर्ने सहमति भएको छ।
सरकारले मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। साथै, घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनमा उल्लेखित सुझाव तथा सिफारिसलाई प्रचलित कानुनअनुसार कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।
त्यसैगरी, मृतक रवीन्द्रकुमार मेहताको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने र अन्त्येष्टिको व्यवस्था गर्ने सहमति भएको छ।
घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने भएको छ। त्यसका लागि स्थानीय सरकारसँग समन्वय गरी चालु वर्षमै आवश्यक बजेट विनियोजन गर्ने सहमति पनि भएको छ।
सरकार र मृतक परिवारबीच भएको सातबुँदे सहमतिले घटनाको छानबिन, दोषीमाथि कारबाही, पीडित परिवारको व्यवस्थापन तथा मृतकहरूको स्मृतिमा संरचना निर्माण गर्ने विषयलाई समेटेको छ।


