मुक्तिनाथ (मुस्ताङ), साउन ३१ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका ६४ बर्षीय मिग्मा गुरूङको काँचो माटोले बनाएको परम्परागत ‘मुन्डे घर’ जीर्ण भएपछि भत्काउनुभयो ।
बेमौसमी हिमपात तथा पछिल्ला बर्षहरूमा वर्षाका कारण काँचो माटो जमाएर घरको छाना भत्किन थालेपछि कृषक गुरूङले स्थानीय काठको प्रयोग गरी पक्की घर बनाउनुभएको छ । गुरूङजस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, समरका आसबहादुर गुरूङले नियमित बर्षाका कारण ‘मुन्डे घर’ को छत पानीले भिजेर चुहिन थालेपछि अहिले पशु चौपायालाई प्रयोग गर्ने गोठ बनाउनुभएको छ ।
जिल्लाको पाँचवटै स्थानीय तहमा विगत एक दशक अघिसम्म बाक्लै देखिने सांस्कृतिक शैलीका घरहरू पछिल्लो समय नियमित हुने बर्षा र बाक्लो हिमपातका कारण नासिन थालेका छन् । सडक सञ्जाल बस्तीसम्म जोडिएपछि स्थानीय काँचो माटोको इँट्टाले बनाइएका मुन्डे घरको विकल्पमा ढलानसहितको पक्की घरतर्फ मुस्ताङीको आकर्षण बढेको छ ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङ बजारका अधिकांश मुन्डे घरहरू विस्थापित भएको वडा अध्यक्ष टैधुन्टु ठकुरीले बताउनुभयो । अध्यक्ष ठकुरीले भन्नुभयो, ‘‘स्थानीय प्रविधिको प्रयोग गरी निर्मित घरमाथि राखिएको दाउराको मुस्ताङवासीको पहिचान हो, अहिले मौसमी हलचलका कारण घर भत्काएर नयाँ गराउनुपर्ने बाध्यता छ ।’’
उपल्लो मुस्ताङमा जलवायु परिवर्तनका कारण तापक्रम बढेपछि हिमपातभन्दा धेरै बर्षा हुन थालेपछि सबैभन्दा धेरै काँचो माटोको इँट्टाले बनाइएको परम्परागत घर र गुम्बाहरूको संरक्षणमा असर गरेको छ ।

लोमान्थाङ गाउँपालिकामा माटोको पर्खालभित्र रहेको १४ औं शताब्दीको ऐतिहासिक लोमान्थाङ दरबार समेत काँचो माटोको प्रयोग गरी बनाइएको अवस्थामा भूकम्पको धक्काले जीर्ण बनेको छ । सन् २००८ मा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) ले माटोको सहर, दरबार भएकाले विश्व सम्पदा सूचीमा समेत सूचीकृत गर्न प्रस्ताव गरेको थियो ।
पछिल्लो समय मौलिक घरहरू नासिन थालेपछि सम्पदा संरक्षणमा सक्रिय संस्थाले समेत चिन्ता ब्यक्त गर्नेगरेका छन् । उपल्लो मुस्ताङमा पूरानो घरहरू मासेर आरसीसी ढलान गरेर कङ्क्रिटका घर बनाउन थालेपछि मुन्डे घर जोखिममा परेको कृषि तथा वातावरणको क्षेत्रमा सक्रिय डा. टीकाबहादुर कार्कीले बताउनुभयो ।
डा. कार्कीले भन्नुभयो, ‘‘मुस्ताङमा खेतबारीदेखि घरसम्म जलवायु परिवर्तनको असर देखिएको छ, बर्षाका कारण सुक्खा पहाडलाई समेत असर गरेको छ।’’ मुस्ताङमा माटोको छाना भएका घरले हिमपात, अत्यधिक जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुने भएकाले रैथाने सीप, ज्ञान र वास्तुकलायुक्त माटोको प्रयोगमा अझै स्थानीयको चासो र चिन्ता रहेकाले मुन्डे घरको तथ्याङ्क संकलनसहितका कार्यमा स्थानीय तहको चासो छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुर्खाले दिएको उपहार भएकाले संरक्षणमा अनुदानसहितका कार्यलाई प्रोत्साहन गर्ने नीति रहेको बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, ‘‘पर्यटकलाई आर्कषित गर्न सकिन्छ, जलवायु परिवर्तन सम्मेलनमा समेत यस विषयमा छलफल गर्दैछौ ।’’
६ बर्षअघि थासाङ गाउँपालिका –४ न्याउरीबोट एक किशोरको घटनास्थलमा नै ज्यान समेत गएको थियो । परिवारका अन्य सदस्य घाइते भएका थिए । मुस्ताङको जोमसोम केन्द्रका अनुसार तल्लो मुस्ताङ क्षेत्रमा ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मको वर्षा हुने गरेको छ । यसलाई ठूलो वर्षामा मापन गर्ने गरिन्छ ।


