काठमाडौं । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको छ।
निगमले सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास वितरणलाई व्यवस्थित बनाउन निगमले उद्योगीलाई दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
त्यस्तै, बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण दैनिक रूपमा तयार पार्नुपर्नेछ। उक्त विवरण सम्बन्धित ग्यास उद्योगले सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गर्नसमेत निर्देशन दिएको छ। ग्यासको ढुवानी तथा वितरणमा सुरक्षाका लागि आवश्यक सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको जनाएको छ।
यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका कर्मचारीसहितको संयुक्त टोलीले ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।


