डोल्पा । कर्णाली प्रदेशमा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डिडीसी)बीच सम्झौता भएको हो।
सम्झौताअनुसार डिडीसीले उद्योग सञ्चालनका लागि याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। प्राविधिक सहयोगपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी जगदुल्ला गाउँपालिकाको हुनेछ भने गाउँपालिकाले उत्पादन गरेको चिज डिडीसीले खरिद गर्नेछ।
डिडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायाले शनिबार चिज उत्पादनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि कर्णालीबाट व्यावसायिक रूपमा याक चिज उत्पादन गर्ने बाटो खुलेको छ। डिडीसीका महाप्रबन्धक पाण्डेले तत्कालै काठमाडौंँबाट प्राविधिक टोली पठाएर काम अघि बढाइने बताए। उनका अनुसार उद्योगबाट वार्षिक करिब ३० टन याक चिज उत्पादन गर्ने लक्ष्य राखिएको छ।
समुद्री सतहबाट करिब ४ हजार मिटरभन्दा बढी उचाइमा रहेको उक्त क्षेत्रमा स्थापना हुन लागेको चिज उद्योगले स्थानीय चौरीपालक किसानलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।
डोल्पा देशकै धेरै चौरीपालन हुने जिल्लामध्ये एक हो। याक तथा चौरीले यार्सागुम्बालगायत हिमाली वनस्पति चरन गर्ने भएकाले यहाँ उत्पादन हुने चिजको स्वाद र गुणस्तरमा समेत विशेषता रहने स्थानीयको विश्वास छ।


