चितवन । आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले भरतपुरका ४५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।
पीडित युवतीले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि घटना बाहिर आएको हो। प्रहरीका अनुसार आरोपितकी श्रीमती र छोरा वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका छन्। छोरीको स्वास्थ्यमा समस्या देखिएपछि आरोपित करिब आठ महिनाअघि उपचारका लागि नेपाल फर्किएका थिए।
पुनः जापान फर्कने तयारीमा रहेका उनी र छोरी घरमा सँगै बस्दै आएका थिए। सोही क्रममा गत साउन २८ गते मादक पदार्थ सेवन गरी आरोपितले छोरीलाई डरधम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा आरोपितले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। उनलाई भदौ ४ गते पक्राउ गरिएको हो।
पक्राउ परेका आरोपितविरुद्ध जिल्ला अदालत चितवनबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


