काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला चलचित्र ‘पाँच पाण्डव’मा फरक र दमदार भूमिकामा देखिने भएकी छन् । उनले यस चलचित्रमा आफूलाई दर्शकले ‘फाइटर लेडी’का रूपमा देख्न पाउने बताएकी छन् ।
चलचित्रमा दीपाश्रीले भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् भने भीमको भूमिकामा अभिनेता जितु नेपाल छन् । यसपटक आफ्नो चरित्र विगतका भूमिकाभन्दा फरक रहेको उनको भनाइ छ ।
“यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो,” दीपाश्री भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन् ।”
चलचित्रमा आफ्नो प्रवेश हुने दृश्यले दर्शकबाट सिठी, ताली र हुटिङ पाउनेमा उनी विश्वस्त छिन् । डबिङकै क्रममा पनि आफूलाई त्यस्तो महसुस भएको उनले बताएकी छन् ।
“मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन् । ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमान्लाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ,” उनले भनिन् ।
चलचित्रमा दीपाश्रीको चरित्रको नाम ‘सितर्नी’ रहेको छ । यो नाम दर्शकको मुखमा झुन्डिने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।
आफ्नो सिने करियरमा यसअघि निर्वाह गरेका भूमिकाभन्दा फरक चरित्र भएकाले ‘पाँच पाण्डव’लाई उनले नयाँ अनुभवका रूपमा लिएकी छन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । त्यस्तै, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय रहेको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार ‘पाँच पाण्डव’ सोसल ड्रामा विधामा निर्माण भएको चलचित्र हो । महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने प्रयास चलचित्रमा गरिएको छ ।
श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन छ । फाइट डाइरेक्टरका रूपमा सम्राट बस्नेत रहेका छन् भने गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम र पुकार धिमालको भीएफएक्स रहेको छ । रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् ।
चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउने निर्माण टिमले जनाएको छ ।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।


