काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक अवस्थामा देखाइएको छ ।
पोस्टरमा विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् भने विजयका आँखामा पनि आँसु देखिन्छ । गाउँले परिवेशमा तयार पारिएको पोस्टरले कुनै मेला वा जात्रामा पुगेको जोडी अप्रत्याशित समस्यामा परेको संकेत गर्छ ।
सफा र चिटिक्क परेका पहिरनमा देखिएका विजय र अञ्जनाको जोडीको लुक्स गाउँले परिवेशसँग मेल खान्छ । अञ्जनाले लगाएको बुलाकी, नौगेडी र माडवारीले उनको ग्रामीण परिवेश झल्काउने पहिरनलाई थप आकर्षक बनाएको छ । पृष्ठभूमिमा देखिएको मन्दिर र मानिसको भीडले जात्राको माहोल प्रस्तुत गरेको छ । त्यस्तै, अञ्जनाको बिग्रिएको कपाल र दुवै पात्रको भावुक अवस्थाले चलचित्रमा कुनै गम्भीर घटना घटेको संकेत गर्छ ।
चलचित्रको शीर्षकअनुसार पोस्टरमा प्रयोग गरिएको रङ संयोजनले पनि कथाको भाव र चलचित्रको मुड झल्काउने प्रयास गरेको छ ।
सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा नेपाली चलचित्र क्षेत्रको सफल जोडी विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन् । उनीहरूको यो दोस्रो सहकार्य हो । यसअघि दुवैले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफलमध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह-निर्माता तथा सुमन रञ्जित र अनिश अधिकारी क्रमशः एसोसिएट र लाइन निर्माता छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ ।
चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।
आगामी मंसिर १८ गते प्रदर्शनमा आउने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । विग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन् ।


