साउन १९ , काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणाको अन्तिम तयारी गरेको छ ।सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
कुनै नयाँ राजनीतिक घटनाक्रम नभए बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने सरकारको तयारी छ ।निर्वाचन आयोगले गरेको सिफारिसअनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो ।
प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।प्रधानमन्त्री देउवाले बुधबार सत्तागठबन्धनका शीर्ष नेतासँग निर्वाचन घोषणाबारे राय लिएका छन् । उनीहरूले ४ मंंसिरकै मिति सुझाएका छन् ।
‘निर्वाचनको मितिलाई लिएर प्रधानमन्त्रीले सरोकारवाला सबैसँग परामर्श गर्नुभएको छ । गठबन्धन दलसँग निरन्तर छलफल भइरहेको छ, प्रमुख प्रतिपक्षसँग पनि छलफल भइसकेको छ,’ प्रवक्ता महतले भने, ‘सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसक्नुभएको छ । सबैसँगको परामर्शका आधारमा एक–दुई दिनमा मिति घोषणा हुँदै छ ।’
प्रधानमन्त्री देउवाले बुधबार सत्तागठबन्धनका शीर्ष नेताको बैठकमा निर्वाचन घोषणाबारे राय लिएका छन् । शीर्ष नेताले ४ मंंसिरका लागि मिति घोषणा गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले पनि २ वा ४ मंसिरमा निर्वाचन गर्न उत्तम हुने सुझाएका छन् ।


