असोज २७ ,काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ। आयोगले बुधबार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २ हजार ४१२ जना उम्मेदवारी कायम भएको छ। त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने ३३० सिटका लागि ३ हजार २२४ जना उम्मेदवार कायम भएको अन्तिम नामावली प्रकाशन गरिएको छ। प्रतिनिधिसभा सदस्यका लागि २ हजार ९४३ पुरुष, २८० महिला र १ अन्य गरी २ हजार ४१२ उम्मेदवार छन्।
त्यस्तै प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा सदस्यका लागि प्रदेश १ मा ५१०, मधेस प्रदेशमा १ हजार ७, वाग्मती प्रदेशमा ६६८, गण्डकी प्रदेशमा २३५, लुम्बिनी प्रदेशमा ४९५, कर्णाली प्रदेशमा ११६ र सुदूरपश्चिम प्रदेशमा १९३ जनासहित ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेको आयोगले जनाएको छ। ‘यो बुधबार साँझ ८ बजेसम्म यकिन गरिएको देशभरको प्रारम्भिक विवरण हो,’ आयोगका प्रवक्ता पौडेलले भने, ‘यसमा केही घटबढ हुन सक्छ।’
काठमाडौं १ मा १० महिलासहित ३२ जना उम्मेदवार छन्। त्यस्तै काठमाडौं–४, धनुषा–३ र मोरङ–३ मा ३१ जना उम्मेदवार कायम भएका छन्। काठमाडौं क्षेत्र २ मा पाँच महिलासहित ३० जना उम्मेदवार छन्। सबैभन्दा कम हुम्ला र मनाङमा ३–३ जना उम्मेदवार छन्।
आयोगका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिएकामध्ये ३७६ जनाको उम्मेदवारी फिर्ता तथा खारेजी भएको छ। राजनीतिक दल र स्वतन्त्रबाट गरी प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ जनाको उम्मेदवारी फिर्ता तथा खारेजी भएको आयोग प्रवक्ता पौडेलले बताए। प्रतिनिधिसभातर्फ दुई हजार ५३१ जना र प्रदेशसभातर्फ तीन हजार ४८१ जनाको उम्मेदवारी परेको थियो। अन्तिम नामावली प्रकाशनपछि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन चिह्न पाएका छन्।
प्रवक्ता पौडेलले बिहीबारबाट मतपत्र छाप्ने काम सुरू हुने बताए। ‘निर्वाचन चिह्न प्रदान गरिएको छ। अब बिहीबारदेखि मतपत्र छपाइ सुरू हुनेछ,’ उनले भने, ‘उम्मेदवारको निर्वाचन चिह्नका आधारमा जिल्लागत मतपत्र छापिनेछ।’


