पुस १ ,काठमाडौं। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरु सत्ता समीकरण र पद बाँडफाँडको जोडघटाउमा लागेका छन् । यो सँगै नयाँ प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलगायत कसले पाउने भन्ने चासो र चर्चा सुरु भएको छ । त्यसमा पनि सेरोमोनियल राष्ट्रपतिका लागि राजनीतिक दलका नेतासहित गैर राजनीतिक व्यक्तिहरु समेत राष्ट्रपतिका आकांक्षीका रुपमा चर्चामा आएका छन् ।
अहिलेसम्म राष्ट्रपतिमा आकांक्षा राख्ने र चर्चामा आएका नामहरु एक दर्जन पुगिसकेका छन् । राष्ट्रपतिमा आकांक्षा देखाउने र चर्चामा रहेका नामहरुमा कांग्रेस, माओवादीदेखि एकीकृत समाजवादीसम्मका छन् । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ हुँदै कतिपयले शेरबहादुर देउवालाई समेत राष्ट्रपतिका रुपमा प्रोजेक्सन गरेका छन् । यद्यपि देउवा स्वयं भने राष्ट्रपति भन्दा पनि प्रधानमन्त्रीमै बढी आकांक्षी छन् ।
माओवादी केन्द्रबाट हालका उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख अग्नि सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरादेखि जयपुरी घर्तीसम्म छन् । कांग्रेस र माओवादीबाहेक नेकपा एकीकृत समाजवादीका नेता पनि राष्ट्रपतिका लागि आकांक्षी छन् । जसमा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल अगाडि छन् ।
उनलाई यसअघि सत्ता गठबन्धन गर्ने बेलामा पनि राष्ट्रपतिका रुपमा अघि सारेको चर्चा चलेका थिए । यो बाहेक समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपाल पनि प्रधानमन्त्री बन्ने तत्काल सम्भावना नदेखेकाले राष्ट्रपति बनेर इतिहास रच्ने मौका गुमाउन चाहँदैनन् । तथापि नेपालले अहिले आफ्नो राष्ट्रपति बन्ने उमेर नभएको भन्ने गरेका छन् ।
कतिपयले गैर दलीय क्षेत्रबाट राष्ट्रपति बनाउँदा पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठ र शुशीला कार्कीमध्येबाट कुनै एकलाई राष्ट्रपति बनाउनुपर्ने लविङ समेत गरिरहेका छन् । तर संविधानले यी तीनै जनालाई राष्ट्रपति बन्न निषेध गरेको छ ।


