काठमाडौं, भदौ २५ गते
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्नेमा जोड दिएका छन् । ११० औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले लुम्बिनी र पोखरा एयरपोर्टभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताएका छन् । उनले अबको चार वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने जानकारी गराएका छन्। महतले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् । उनले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको जिकिर गरे
मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताए । उनले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने जानकारी दिए । अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्नेमा जोड दिए ।


