२० कात्तिक, काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए)को बैंठकमै भूकम्प पीडितको लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । सबैभन्दा बढी पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले ५० लाख सहयोग घोषणा गरेका छन् । डा. घले प्रमुख अतिथि र कुँवरको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले १० लाख सहयोग घोषणा गरेका छन् भने विश्वका विभिन्न देशमा रहेका ३६ जना तथा एनसीसीले सहयोग घोषणा गरेका छन् ।
आइसीसी, एनसीसी र सल्लाहकारहको संयुक्त बैठकले संघले संरक्षक डा. घलेको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना संचालन गर्ने निर्णय गरेको छ । आपत्तकालिन अवस्थामा सहयोग गर्न ‘ग्लोबल एनआरएनए फाउण्डेसन’ को खातामा रकम जम्मा गर्न सबै गैरआवासीय नेपालीलाई सहयोगको लागि आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले संघको ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १६ र १७ मा काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । यसअघि मार्च २ र ३ मा गर्ने भनिएको महाधिवेशन भूकम्प पीडितको लागि राहत संकलनमा जुट्नु पर्ने भएका कारण केही दिन पछि सारिएको हो ।
संघको ग्लोबन फाउण्डेन र एमआईटी फाण्डेसनको पहलमा विभिन्न देशमा रहेका एनसीसी र व्यक्तिगत रुपमा पनि सहयोग अभियान जारी रहेको छ । संघका अध्यक्ष कुँवरले यसअिघ पनि भूकम्प पीडितले प्रत्यक्ष सहयोग महशुस हुनेगरी सहयोग प्रदान गर्ने बताउँदै विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोगको लागि अपील गरेका थिए ।


