प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको लिग चरणमा अपराजित हुँदै एपीएफ क्वालिफायरमा पुगेको छ । लिगको अन्तिम खेलमा बाग्मतीलाई ४७ रनले पराजित गर्दै एपीएफ सीधै क्वालिफायरमा पुगेको हो । त्रिवि क्रिकेट मैदानमा एपीएफले जितका लागि दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७९ रन बनायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । जितसँगै एपीएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको छ ।
आजै भएको अर्काे खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले हराएको छ । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०३ रन बनायो ।
यो जितसँगै सुदूरपश्चिम प्रदेशले क्वालिफायर खेल्ने सम्भावना कायम राखेको छ । सुदूरपश्चिम ७ खेलमा १० अङ्कका साथ तेस्रो स्थानमा छ । एक खेल कम खेलेको कोशीको पनि १० अङ्क भए पनि अन्तिम खेलमा लुम्बिनीसँग पराजित भए सुदूरपश्चिम क्वालिफायरमा पुग्नेछ ।
यदि कोशी विजयी भाएमा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्नेछ । कोशी पराजित भएको खण्डमा बाग्मती, कोशी र सुदूरमध्ये एक टोली शीर्ष दुईमा रहेर क्वालिफायर खेल्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।


