कोरियाले आगामी वर्षदेखि माग भएको तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।
माग भएभन्दा झण्डै १० गुणाभन्दा बढी कामदारको आवेदन परेपछि तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।यसवर्षको कोरिया भाषा परीक्षा छिटो सक्न आग्रह समेत गरेको छ । अहिले दैनिक एक हजारका दरले कोरिया भाषा परीक्षा दिइरहेका छन् ।
यस वर्ष धेरैको आवेदन पर्दा उत्पादन बाहेकका कामदार लैजान नसक्ने भन्दै आगामी वर्षदेखि आवेदनलाई सीमित गर्नका लागि उसले आग्रह गरेको हो । यस वर्ष उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाको परीक्षा सक्नै एक वर्ष लाग्ने भएकाले अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई पत्र पठाएको छ । इपिएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाका अध्यक्षले पठाएको पत्र मङ्गलबार मात्र नेपालले प्राप्त गरेको छ ।
ग्वार्कोस्थित इपिएस कोरिया शाखाका प्रमुख मैया कँडेलका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै लिन नसकिने भएका कारण ती क्षेत्रहरूमा अन्य देशहरूबाट नै कामदार लैजाने कोरियाले उक्त पत्रमार्फत नै जानकारी गराएको छ । यस वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन क्षेत्रबाट १५ हजार ९०० जनामात्र कामदार लाने व्यवस्था गरेको छ ।
नेपालबाट लैजानेभन्दा १० गुणा बढीको आवेदन परेपछि परीक्षा सक्न एक वर्ष लाग्ने देखिएको छ । अहिले कोरियाले नेपालसहित १६ देशबाट कामदार लाने गरेको छ ।
दैनिक एक हजारको परीक्षा
दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट सर्भिसले दैनिक पाँच समयमा गरेर एक हजार जनाको भाषा परीक्षा लिइरहेको छ ।
निर्देशक कँडेलले भन्नुभयो, “एक सिफ्टमा २०० जनाका दरले हरेक दिन एक हजारको परीक्षा भइरहेको छ । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा आगामी अप्रिल ६ सम्म सक्ने तालिका प्रकाशन भएको छ ।”
शाखाका अनुसार मेमा सुरु भएर जुलाई अन्तिममा सकिने दोस्रो चरणको परीक्षामा ७९ हजार र नोभेम्बरमा सुरु भएर डिसेम्बर १७ मा सकिने तेस्रो चरणको परीक्षामा बाँकी ३६ हजार सहभागी हुनेछन् ।

कोरियाले किन गर्छ नेपाललाई विश्वास ?
कोरियाले कामदार लैजाने देशमा सबैभन्दा बढी कामदार नेपालका हुने गरेका छन् । नेपालीहरू कामप्रति इमानदार र कुनै अनैतिक काममा संलग्न नहुने कुरालाई नै कोरिया पक्षले मन पराउने इपिएस शाखाका प्रमुख मैया कँडेल बताउनु भयो । कामको करार अवधि सकिएपछि पनि अवैधानिक तवरले कोरिया नबस्नुलाई कोरिया पक्षले सकारात्मक रूपमा लिएको उहाँ बताउनुहुन्छ ।


