काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक उल्लंघनकर्तालाई सडकमा स्वयं सेवकको रूपमा खटाउन थालेको छ।
जेठ १५ गते गणतन्त्र दिवसको दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला प्रहरीलाई चार दिन महिनावारीका दिनमा सडकमा ड्युटी गर्न नपर्ने र मापसे लगायत गर्नेहरूलाई स्वयं सेवकको रूपमा खटाउने भनेर सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए।
घोषणा गरेको भोलिपल्टैदेखि ट्राफिक उल्लंघनकर्तालाई सडकमा स्वयं सेवकको रूपमा खटाउन थालेको हो । जेठ १४ गते ट्राफिक उल्लंघन गर्नेहरूलाई सडकमा स्वयं सेवकको रूपमा खटाउने भन्ने गृहमन्त्रीस्तरीय निर्णय भएको थियो।
अहिले कानुन विपरीत ट्राफिक प्रहरीको रूपमा सडकमा खटाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। शुक्रबार नै यस निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ।
यता ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयं सेवकको रूपमा खटाउने गृह मन्त्रालयको निर्णयको पत्र शुक्रबार बल्ल प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेको छ।


