विराटनगरमा आइतबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडी कांग्रेस निकट नेविसंघका केही कार्यकर्ताले सरकारी गाडिमाथी आजगनी गरेको खुलेको छ ।
प्रहरी स्रोतको अनुसार विद्यार्थी नेता महेन्द्र मोरङ क्याम्पसका सभापति जसवन्त पौडेल र सचिव सनम ठकुरीले आन्दोलनको नेतृत्व गरेका थिए ।
नेविसंघका कार्यकर्ताको तोडफोड र आगजनीका कारण कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो जलेर नष्ट भएको छ । उक्त गाडीमा सवार योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारीलाई पनि सामान्य चोट लागेको छ ।
यस्तै सरकारी नम्बर प्लेट कै बिएबी ८१८० साथै नेपाल विद्युत् प्राधिकरणको बा १ ञ १८८७, बा १ ञ २४१९, बाग्मती प्रदेश ०१–००१ ञ २७०१ र बाग्मती प्रदेश ०१–००१ ञ २७९० नम्बरको गाडीमा आगजनी भएको छ । सर्वसाधारणको केही थान साइकल पनि विद्यार्थीले नै क्षति पुर्याइदिएका छन् ।
विद्यार्थीहरूले आइतबार बिहानैदेखि महेन्द्र मोरङ क्याम्पस परिसरमा आन्दोलन सुरु गरेका थिए । त्यसक्रममा बिहान क्याम्पसको गेट अगाडिबाट हिँडिरहेका सरकारी नम्बर प्लेटका गाडीलाई तोडफोड र आगजनी गर्न सुरु गरेका थिए ।
सर्वसाधारणलाई निर्बाध रूपमा क्याम्पस अगाडिबाट हिँडडुल गर्न अवरोध गर्दै ढुङ्गा मुढा गरिरहेको थियोे । यस्तै केही नेविसंघका कार्यकर्ताहरूले क्याम्पसबाट उत्तर पाञ्चाली तिर पुगेर पनि गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
घटनाको कारण के हो ?
विराटनगरमा तीन दिनअगाडि रङ्गेली नगरपालिकाभित्र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा विवाद भएको थियो। गत जेठ २४ गते साढे ४ बजेतिर रङ्गेली नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीबिच विवाद भएको थियो ।
विद्यार्थी दीपककुमार यादवको नेतृत्वमा केही दिन अगाडि संयुक्त विद्यार्थी आन्दोलन समिति निर्माण गरी रङ्गेली नगरपालिकामा विद्यार्थीहरूले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रमा निजी विद्यालयहरूले लिने शुल्क सबै विद्यालयमा समान हुनुपर्ने, रङ्गेली नगरपालिकाले पारित गरेको शिक्षा ऐन प्रदेश र सङ्घसँग बाझिने खालको भएकोले त्यसलाई सच्याउनुपर्ने, निचामारी माविमा दरबन्दी मिलान हुँदा आएका शिक्षकलाई हाजिर गराउनुपर्ने लगायतका विषय छन् ।


