सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुन अनुसार समाजलाई मान्य हुने गरी टिकटकलगायतका कुनै पनि सामाजिक सञ्जाल नेपालमा चलाउँदा आपत्ति नहुने बताउनुभएको छ ।
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिने गरी टिकटकमा सामग्री उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकटक बन्द गरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री शर्माले कानुनी रूपमा अहिले पनि टिकटक बन्द रहेको भन्दै सरकारले नेपाल टेलिकमलगायतका ठुला इन्टरनेट सेवाप्रदायकबाट अहिले टिकटक चलाउन नदिइएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल समाज अनुकूल हुने गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेस गरिएको र अब संसदीय समितिमा व्यापक छलफल हुने बताउनुभयो । उहाँले नेपालको नियम कानुन र सामाजिक मूल्यमान्यतालाई मानेर आउँदा र नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताउनुभयो ।


