वैशाख ११ ,काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्ने अन्तिम जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले केन्द्रीय संसदीय समिति गठन गर्ने प्रस्ताव गरेका थिए । विधानअनुसार पार्टी सभापति नै संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको पनि महामन्त्री हुन्छन् ।
त्यसबाहेक सभापतिले बढीमा ११ जना सदस्यलाई मनोनीत गर्न पाउँछन् । तर, सभापति देउवाले केन्द्रीय संसदीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममात्रै मनोनयनका लागि प्रस्ताव गरेका थिए ।
लगत्तै केन्द्रीय संसदीय समितिको बैठक बसेको थियो । बैठकले ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा पार्टीका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको छ । सहमहामन्त्री जीवन परियारले संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएको जानकारी दिए ।


