हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।
यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भन्नुभएको थियो ।
सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिनुभयो ।
यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरुको भनाइ छ ।
प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ ।
भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपियाँसम्म पर्ने गरेको छ । र नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर प्रयोगशालाले भने ३० हजार रुपियाँ भित्रै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छन् । यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ ।
स्वास्थ्य मन्त्री पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गर्नुभएको थियो । अहिले ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।



