काठमाडौं , माघ १५
काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । सहिद दिवसको अवसर पारेर भोलिदेखि फिल्म रिलिज हुँदै थियो । अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ ।
नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानुन व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालीन आदेश दिँदै दुवै पक्षालाई छलफलका लागि बोलाएको बताए । अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’
फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित फिल्म बुधबारदेखि प्रदर्शन तयारीमा थियो । नामलाई लिएर दुबै फिल्मबीच केही समयदेखि विवाद थियो । दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको थियो ।



