काठमाडौं , फागुन ९ – चलचित्र लाज शरणम’ को सेन्सर भएको छ। सेन्सर भए सगै अब प्रतिक्षित चलचित्र ‘लाज शरणम्’ लाई प्रदर्शनको लागि बाटो खुलेको छ ।
अदालतले सेन्सर पास नभएसम्मका लागि प्रचार रोक्न आदेश दिएको थियो। तर सेन्सर सकिएपछि अब प्रचार खुला भएको हो। आज चलचित्रलाई सेन्सर बोर्डले हेरे पछि चलचित्रमा त्यस्तो केहि दृश्य नभएको र सामान्य दृश्य हटाएर फिल्मलाई सेन्सर दिने एक सदस्यले जानकारी दिए ।
अब फिल्मलाई उच्च अदालत पाटनले दिएको आदेशले छुने छैन।फिल्मको ट्रेलर शनिबार रिलिज हुनेछ भने शिवरात्रीको अवसर पारेर १४ फागुनमा नै रिलिज हुनेछ।
निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्दाका आधारमा अदालतले फिल्म लाज शरणम सम्बन्धी कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएको थियो। आलमले फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’को देखाइएको पात्र आफ्नो गेटअपसँग मेल खाने भन्दै मुद्दा दायर गरेका थिए।
यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।


