काठमाडौं , फागुन १४
महाशिवरात्रिको अवसर पारेर बुधबार (आज )देखि एकसाथ ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा आएका छन् । । बुधबार रिलिज हुने तीन फिल्म देशभर एक अर्काेसँग भिड्दैछन् ।
फिल्म ‘लाज शरणम्’ सानोपर्दाको चर्चित कलाकार कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेका हुन् । कुमारले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।‘मायावी’का निर्देशक दिवाकर भट्टराई छन् । दिवाकरले यसअघि केही फिल्म दिइसकेका छन् । ‘फेरि रेशम फिलिली’का निर्देशक निरोज महर्जन हुन् ।
देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘लाज शरणम्’लाई देशभर ६६ शो दिँदा ‘फेरि रेशम फिलिली’लाई ५१ र ‘मायावी’लाई ४२ शो दिएको छ ।‘लाज शरणम्’ले काठमाडौँभित्र मात्र २८ शो पाउँदा ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ले क्रमशः २४ र २० शोमा चित्त बुझाउनु परेको छ । बिग मुभिजले भने ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ लाई ५/५ शो दिएको छ भने ‘मायावी’ले ३ शो पाएको छ । दर्शकको चाप अनुसार हलको शोमा घटबढ हुन सक्ने जनाइएको छ ।
‘लाज शरणम्’
आज बाट प्रदर्शनमा आएको वर्षकै प्रतिक्षित फिल्म ‘लाज शरणम्’ राजनीतिक विषयवस्तुमा निर्माण भएको छ । फिल्मले कर्णाली भेगमा राजनीति गर्ने एक नेताको कथालाई विषयवस्तु बनाएको छ ।
हाँस्य टेलिशृङ्खला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्ममा सीताराम कट्टेल ‘धर्मुस’ नेताको भूमिकामा छन् । फिल्ममा कट्टेलले गरेको नेताको गेटअप केही अगाडि विवादमा परेको थियो । उनी सो भूमिकामा देखिएको पोष्टरलाई लिएर पूर्वमन्त्री आफताव आलमले आफूजस्तै देखिने गरी चरित्र चित्रण गरेको भन्दै पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।
फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
‘लाज शरणम्’ पनि ४ करोडको बजेटमा तयार भएको फिल्म हो । नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेको फिल्ममा लगानी गरेको छन् ।
‘फेरि रेशम फिलिली’
आज बाट प्रदर्शनमा आएको अर्को फिल्म ‘फेरि रेशम फिलिली’ युवाहरूको अमेरिका मोहको विषयमा निर्माण भएको फिल्म हो । ‘ग्रीन कार्ड’को विषयवस्तु समेत उठाइएको बताइने फिल्म २०७२ मा रिलिज ‘रेशम फिलिली’को सिक्वेल हो ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ ।
फिल्म ‘फेरि रेशम फिलिली’ ४ करोड बजेटमा निर्माण भएको निर्माता रौनक विक्रम कंडेल बताउँछन् । फिल्मको कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्माता एनी थापा हुन् ।
‘मायावी’
यस्तै, ‘मायावी’ प्रेमकथामा बनेको हो । युवापुस्तामा मौलाएको प्रेमकथा फिल्ममा देख्न सकिने बताइन्छ । फिल्ममा पल शाह, दीपिका प्रसाइँ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईँ, दीपेन्द्र सिंखडा, संगीता सिलवाल लगायतको अभिनय छ ।
पछिल्लो समय निर्माताहरू फिल्ममा खुलेर लगानी गर्न थालेका छन् । बुधबार रिलिज हुने तीन फिल्म २ करोडदेखि ४ करोडसम्म बजेटमा निर्माण भएका छन् ।
फिल्म ‘मायावी’ २ करोडमा तयार भएको छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता, प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओलीको सह–निर्माण छ ।


