काठमाडौं, मंसिर १५
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ गतेबाट २८ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। केन्द्रीय समिति बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मितिबारे जानकारी दिँदै अब विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट पारे।
प्रवक्ताका अनुसार, “१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन। मुख्य कुरा अधिवेशन समयमा गर्नु हो,” भन्दै उनले निर्धारित मितिमा नै सबै प्रक्रिया अघि बढ्ने बताए।
यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामाथि सोमबार केन्द्रीय समिति बैठकमा सहमति जुटेको थियो। कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र सक्ने उल्लेख छ।
महाधिवेशनको मिति टुंगिन नसक्दा केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूको भावना समेत सम्बोधन हुनेगरी पुसमा महाधिवेशन गर्ने सहमति बनेको बताइएको छ।
वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म रहेकामा कांग्रेस विधानअनुसार म्याद एक वर्षसम्म थप्न सकिने व्यवस्था छ। तर, केन्द्रीय समितिले दुई महिना मात्र थप गर्दै यही पुसमै महाधिवेशन गर्ने अन्तिम निर्णय गरेको हो।



