काठमाडौँ , पौष ११ — नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मा ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवास मा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो।
प्रधानमन्त्री सुशीला कार्की ले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वको उपस्थिति थियो। कार्यक्रममा कूटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी तथा संवैधानिक अंगका प्रमुख र कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
पूर्व नेपाली सेनाका रथी शर्माले यसअघि सेना समायोजन विशेष समिति सचिवालय संयोजक को जिम्मेवारी सम्हालिसक्नुभएको छ। साथै उहाँले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमाण्डर को रूपमा समेत सेवा दिनुभएको अनुभव छ। हाल शर्मा प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष का रूपमा कार्यरत हुनुहुन्छ।
सैन्य, कूटनीतिक र प्रशासनिक अनुभव बोकेका शर्माको नियुक्तिलाई परराष्ट्र नीतिमा व्यावसायिकता र संस्थागत सुदृढीकरणको संकेतका रूपमा हेरिएको छ।


