काठमाडौँ , पौष २३ । ऊर्जामन्त्री कुलमान घिसिङ ले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
घिसिङ गत भदौ ३० गते ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएका थिए । उनलाई ऊर्जा मन्त्रालयसँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालय को अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो ।
राजनीतिक गतिविधिमा खुलेर सक्रिय भएपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई पदबाट अलग भएर मार्गप्रशस्त गर्न सुझाव दिएकी थिइन् । त्यसैको परिणामस्वरूप उनले मन्त्री पदबाट राजीनामा दिएको बुझिएको छ ।
गत पुस १४ गते घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी बीच ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार उनीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन मा सहकार्य गरेर अघि बढ्ने तयारीमा छन् ।
सम्झौताअनुसार कुलमान घिसिङ रास्वपामा दोस्रो वरीयताको नेतासहित उपसभापति बन्ने सहमति भएको स्रोतले जनाएको छ । मन्त्री पदबाट बाहिरिएसँगै अब घिसिङ पूर्ण रूपमा चुनावी राजनीतिमा केन्द्रित हुने देखिएको छ ।




