काठमाडौं , माघ ०२
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति को रूपमा मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० सञ्चालन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका बहुमत प्रतिनिधिले थापालाई सभापति चयन गरेका थिए ।
निर्णयअनुसार, गगनकुमार थापाले पार्टीको कार्यालय, बिधानिक औपचारिकता र निर्वाचनसम्बन्धी सबै कानुनी प्रक्रिया सञ्चालन गर्न सक्नेछन्। यसअघि पार्टीभित्र देखिएका विवाद र फरक–फरक गुटबीचको टुङ्गो नलागेका अवस्थाले राजनीतिक रूपमा चर्चित बनेको नेपाली कांग्रेसको नेतृत्वलाई अब आयोगले औपचारिक मान्यता दिएका कारण पार्टीभित्र र समग्र राजनीतिमा यसको प्रभाव पर्ने बुझिएको छ।
निर्वाचन आयोगले निर्णय गर्दा निर्वाचनसम्बन्धी ऐन, नियम तथा पार्टीका आन्तरिक विधानअनुसार थापाको नेतृत्वलाई मान्यता दिने आधार रहँदै आएको बताइएको छ।
यस निर्णयसँगै गगनकुमार थापाले पार्टीका सबै गतिविधि, निर्णय र रणनीति अगाडि बढाउने अधिकार पाएका छन्।



