काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाको निजी सचिवालयले उनी उम्मेदवार नबन्ने जानकारी दिएको हो।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार,“शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,” भन्दै औपचारिक जानकारी गराइएको हो।
२०४८ सालदेखि निरन्तर डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र प्रत्येक निर्वाचन जित्दै आएका देउवालाई यसपटक चुनाव नलड्न पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आग्रह गरेका थिए। यद्यपि, देउवाले यसअघि अन्तिम पटक चुनाव लड्ने संकेत दिएका थिए।
नयाँ कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै देउवा समूहले अदालतमा रिट दायर गरिसकेको अवस्थामा, उम्मेदवारी दर्ता हुनुअघि नै देउवाले चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन्।
डा. आरजु राणा पनि उम्मेदवार नबन्ने
यसैबीच, नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणालाई पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेको छ।कैलाली क्षेत्र नम्बर–५ बाट डा. राणाको नाम सिफारिस भए पनि कांग्रेसले सो क्षेत्रमा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।
कांग्रेसले कैलाली–५ बाट नरनारायण शाहसहित डा. आरजु राणा, डिल्लीराम पन्त र नृपबहादुर ओडको नाम सिफारिस गरेको थियो। तर सभापति गगनकुमार थापाले सबै सिफारिसलाई थाती राख्दै शाहलाई टिकट दिएका हुन्।


