काठमाडौँ — बालेन्द्र शाहले काठमाडौँ उपत्यकामा नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर फैलिएको त्रासप्रति प्रतिक्रिया जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले सरकारले कसैलाई उठिबास लगाउने वा घरबारविहीन बनाउने कुनै मनसाय नरहेको स्पष्ट पारे। सरकारी जग्गा अतिक्रमण भएका क्षेत्रको व्यवस्थापन कानुनअनुसार अघि बढाइएको उनले बताएका छन्।
उनले यस विषयमा केही समूहले नियोजित रूपमा भ्रम र त्रास फैलाउने प्रयास गरेको दाबी गर्दै नागरिकलाई अपुष्ट सूचना र हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
बालेनका अनुसार सरकारको प्राथमिकता नागरिकको सुरक्षा र उचित व्यवस्थापन हो, न कि कसैलाई विस्थापित गर्नु। उनले सबैलाई जिम्मेवार भएर तथ्यमा आधारित जानकारी मात्र विश्वास गर्न अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया


