जनकपुर, जेठ ८ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रोपटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
Jजनमत पार्टी सरकारबाट बाहिरिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाउन आग्रह गरेका थिए। बिहीबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा उनको पक्षमा स्पष्ट बहुमत देखिएको हो।
बैठकमा उपस्थित १०० प्रदेश सभा सदस्यहरूमध्ये ६२ जनाले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरे भने ३६ जनाले विपक्षमा मत दिएका थिए। प्राप्त मत आवश्यक बहुमतभन्दा बढी भएकाले यादव नेतृत्वको सरकारले पुनः प्रदेश सभाको विश्वास कायम राख्न सफल भएको छ।
मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली संघीय समाजवादी पार्टी लगायत दलका सांसदहरूले समर्थन जनाएका थिए। यता जनमत पार्टी, जसपा नेपाल र राप्रपालेका सांसदहरूले विपक्षमा मतदान गरेका थिए।
विश्वासको मत प्राप्त गरेसँगै मधेश प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ। प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।


