काठमाडौँ, जेठ ९ गते । नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा बढ्दै गएको छ । मुटुरोग, मधुमेह, क्यान्सर, दम तथा मिर्गौलासम्बन्धी समस्याका कारण मृत्यु हुनेको सङ्ख्या वृद्धि भएको छ । अस्पतालमा उपचार गराउन आउनेमध्ये अधिकांश नसर्ने रोगसँग सम्बन्धित हुने गर्छन् । प्रत्येक पाँच वर्षमा हुने जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नसर्ने रोग बढ्दै गएको देखाएको छ ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार उच्च रक्तचाप, मोटोपना तथा जीवनशैलीजन्य रोगको समस्या उल्लेखनीय रूपमा बढ्दो अवस्थामा पुगेको छ । सर्वेक्षण अनुसार विशेष गरी महिलामा मोटोपना तथा बढी तौलको समस्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०१६ मा २२.२ प्रतिशत रहेको मोटोपना तथा बढी तौलको दर सन् २०२२ मा बढेर २९ प्रतिशत पुगेको छ । बदलिँदो खानपान, शारीरिक श्रमको कमी, पत्रुखाना (जङ्क फुड) को बढ्दो प्रयोग तथा सहरी जीवनशैली यसको मुख्य कारण हो । यस्तै उच्च रक्तचापको समस्या पनि नेपालमा तीव्र रूपमा बढिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०१६ मा पाँच प्रतिशत महिलामा उच्च रक्तचाप देखिएकोमा सन् २०२२ मा यो दर बढेर ९.६ प्रतिशत पुगेको छ ।
नेपाल एनसिडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले उच्च रक्तचाप, मुटुरोग, पक्षाघात, मिर्गौला रोग तथा अन्य दीर्घ स्वास्थ्य समस्याको प्रमुख कारण बन्ने भएकाले यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिइएको जानकारी दिनुभयो । धूमपान, मदिरा सेवन, शारीरिक गतिविधिको कमी र अस्वस्थकर खानपानलाई नसर्ने रोगका प्रमुख जोखिम कारकका रूपमा औँल्याइएको उहाँले बताउनुभयो ।
उहाँले युवापुस्तामा फास्टफुडको प्रयोग, लामो समयसम्म बसिरहने बानी तथा व्यायामप्रतिको बेवास्ताले स्वास्थ्य जोखिम बढाइरहेको जानकारी दिनुभयो । सहरीकरण बढ्दै जाँदा मानिसको दैनिक जीवनशैलीमा ठुलो परिवर्तन आएको छ, डा. रेग्मीले भन्नुभयो, “परम्परागत खानपान र शारीरिक श्रममा आधारित जीवनशैली क्रमशः घट्दै जानु र प्रशोधित खाना, चिल्लो पदार्थ र चिनीजन्य खानेकुराको प्रयोग बढ्दो क्रममा रहेको छ ।”
स्वास्थ्य सर्वेक्षणमा मानसिक स्वास्थ्य, दुर्घटना, अपाङ्गता, धूमपान तथा रक्तचापसम्बन्धी सूचकलाई पनि समावेश गरिएको छ । मानसिक स्वास्थ्य समस्या पनि पछिल्ला वर्षमा बढ्दो क्रममा रहेको अध्ययनले सङ्केत गरेको छ ।
प्रदेशतर्फ बागमती र गण्डकी प्रदेशमा मोटोपना तथा उच्च रक्तचापको समस्या तुलनात्मक रूपमा बढी देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सहरी जीवनशैली, तनाव, कम शारीरिक गतिविधि तथा खानपानको परिवर्तनले यी प्रदेशमा नसर्ने रोगको जोखिम बढाएको जानकारी दिनुभयो ।
नेपालमा सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेकोमा हाल यो सङ्ख्या बढेर ७१ प्रतिशत पुगेको छ । सन् २०१९ मा गरिएको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा हरेक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिसको विभिन्न रोगका कारण मृत्यु हुने गरेको छ ।



