काठमाडौं । चर्चित चिकित्सक डा. भोजराज अधिकारीले आफू आबद्ध रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सबै सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै डा. अधिकारीले अब आफ्नो समय र ऊर्जा पेशागत क्षेत्र तथा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यले राजनीतिक सक्रियताबाट निष्क्रिय हुने निर्णय गरेको बताएका हुन्।
उनले राजनीतिक यात्राबाट प्राप्त ज्ञान, अनुभव, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गर्दै आफूले समकालीन समाजका अग्रगामी विचार र प्रशिक्षणबाट धेरै कुरा सिकेको उल्लेख गरेका छन्। तर वर्तमान समय वैचारिक वाद–विवादभन्दा पनि विकास र परिणाममुखी प्रतिस्पर्धाको भएको उनको भनाइ छ।
डा. अधिकारीले पेशागत कार्यसँगै समाजसेवाका विभिन्न आयाममार्फत सचेत नागरिकका रूपमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यद्यपि, राजनीतिक रूपमा आफू संलग्न रहेका सबै पद, जिम्मेवारी र सक्रिय भूमिकाबाट अलग हुने निर्णय गरेको उनले स्पष्ट पारेका छन्।
उनको यो घोषणालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ भने सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन्।
डा. भोजराज अधिकारी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बनेका थिए। सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता बिक्रम पाण्डे सँग पराजित भएका थिए।अधिकारी दोस्रो स्थानमा रहेका थिए। निर्वाचन परिणामअनुसार बिक्रम पाण्डेले करिब ३५ हजार मत प्राप्त गर्दा डा. अधिकारीले करिब २५ हजार मत प्राप्त गरेका थिए।



